‘क्रिप्टोकरेन्सी’ आदिदेखि अन्तसम्म !
छिमेकी देश भारतले आउँदो वर्ष आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल मुद्रा सार्वजनिक गर्ने र त्यसको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी छन् ।
यता नेपालमा भने क्रिप्टोकरेन्सी कारोबार कानूनतः प्रतिबन्ध छ । तर हालै सार्वजनिक एक प्रतिवेदनका अनुसार लाखौं नेपालीले यस्तो अभौतिक मुद्रा कारोबार गरिरहेको पाइएको छ । सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ‘ट्रिपल ए’ ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।
सो प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्यामध्ये १.४५ प्रतिशतले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या करिब चार लाख २४ हजार छ । यसमा पनि नेपालका ठूला व्यापारीहरु तथा उच्च पदस्थ अधिकारीहरुको समेत लगानी रहेको बताइन्छ । यसरी भूमिगतरुपमा लगानी हुँदा नियामक निकायले साना-तिना क्रिप्टो एजेन्टलाई मात्र समात्नु कानुन पालन गरेको जस्तो देखाउनु मात्र हो । नेपालमा क्रिप्टोको जडमा पुग्नको लागि यसमा लगानी गर्ने ठूला माछालाई समात्न पर्छ अनि बल्ल क्रिप्टो-निषेधको कानुन सहि रुपमा पालना हुन्छ भन्ने आम-मानिसहरुको बुझाई छ ।
आउनुहोस् क्रिप्टोको नालीबेली बुझौँ ।
‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो ।
यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र एकाधिकारको नियन्त्रणमा पनि छैन । रुपैयाँ, डलर, युरो वा अन्य मुद्राजस्तै यो कुनै पनि राज्य, देश, संस्था वा सरकारद्वारा सञ्चालित हुँदैन । यो एक डिजिटल मुद्रा हो जसका लागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । सामान्यतया, सामान किन्न वा सेवाका लागि यसको प्रयोग गर्न सकिन्छ ।
क्रिप्टोकरेन्सीको नाफा उच्च छ, अनलाइन किनबेचले गर्दा लेनदेन गर्न पनि सजिलो छ । क्रिप्टोकरेन्सीको कुनै नियामक निकाय छैन, त्यसैले नोसेट परिवर्तन वा मुद्रा अवमूल्यनजस्ता सर्तले यसलाई असर गर्दैन । जब २००९ मा बिटकोइन सुरु गरिएको थियो त्यसवेला यसको मूल्य शून्य डलर थियो । २०१० मा पनि यसको मूल्य १ डलरसम्म पनि पुग्न सकेन तर आज मा बिटकोइनको मूल्य ४४ हजार डलरभन्दा माथि पुगिसकेको छ ।
क्रिप्टोकरेन्सीका प्रकार
क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा बढी कीर्तिमान राखेर बजार तताउने मा बिटकोइन लोकप्रिय छ । यसबाहेक विश्वमा सयौँ अन्य क्रिप्टोकरेन्सी छन् । रेड कोइन, सिया कोइन, सिस कोइन, भ्वाइस कोइन, इथिरियम, रिपल, लिट कोइन र मोनेरो यसका उदाहरण हुन् ।
के हो बिटकोइन ?
बिटकोइन एक क्रिप्टोकरेन्सी हो, जसमा अन्य भर्चुअल मुद्रामा जस्तै गुण छन् । यो एक भर्चुअल करेन्सी हो जो आफ्नै हातले छुन सकिँदैन । यसको लेनदेन अनलाइन माध्यमबाट एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेन्सीमा बदल्न पनि सकिन्छ । बिटकोइन २००९ मा चलनचल्तीमा आएको थियो । यसको आविष्कार जापानका सातोसी नाकामोतोले गरेको मानिन्छ, यद्यपि उनको नाम र पहिचान काल्पनिक रहेको बताइन्छ ।
यसको अस्तित्व भर्चुअल दुनियाँ अर्थात् इन्टरनेटमा मात्र रहन्छ । तर, जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ, त्यसरी नै यो मुद्राले पनि सामान खरिद–बिक्री गर्न सकिन्छ । यसको लेनदेन ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । यसको अर्थ यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भरविनै पुग्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ । यसको मूल्य विश्वभर एक समान हुन्छ । उदाहरणका लागि विश्वभर एक बिटकोइनको मूल्य कुनै दिन १९ हजार ८ सय ६० डलरबराबर थियो ।
बिटकोइनको सबैभन्दा सानो करेन्सी सातोसी हो । १० करोड सातोसीको एक बिटकोइन हुन्छ । कुनै पनि करेन्सी, सामान वा सेवाबापत बिटकोइन खरिद गर्न सकिन्छ । यसमा कुनै देश, बैंक वा अथोरिटीको कन्ट्रोल हुँदैन ।
यसमा पैसा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कैयौँपटक यसको मूल्य केही घण्टामै ४० देखि ५० प्रतिशतसम्म झरेको छ । क्रिप्टोकरेन्सीको ज्यादातर प्रयोग गैरकानुनी काममा भइरहेको छ ।
कसरी सुरु भयो बिटकोइन ?
सन् २००९ तिर सातोसी नाकामोतोले यो सफ्टवेर लन्च गरेको बताइन्छ । यसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरिन्थ्यो । केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरूले गर्न थाले ।
उनीहरूले विस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटकोइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रूपमा मुद्राको रूप लियो । विश्वभरका अरू धेरै क्रिप्टोकरेन्सीमध्ये हाल सबैभन्दा प्रचलित बिटकोइन नै छ ।
बिटकोइनबाहेक लोकप्रिय अन्य केही मुद्रा
यसबाहेक पनि अन्य केही राम्रा क्रिप्टोकरेन्सी बजारमा उपलब्ध छन् । तीमध्ये आजभोलि अधिक प्रयोग भइरहेका केहीको जानकारी यस प्रकार छ:
१. रेड कोइन : यो विशेष अवसरमा प्रयोग गर्न सकिने क्रिप्टो मुद्रामध्ये एक हो । यसको उपयोग मानिसलाई सल्लाह दिन गरिन्छ ।
२. सिया कोइन : यो पनि वर्तमानमा धेरै प्रयोग गरिने मुद्रमा पर्छ । यो अहिले बढ्दो क्रममा छ । यो कोइनको मूल्यमा हाल अधिक वृद्धि भइरहेको छ ।
३. यसवाइयस कोइन : यो एक क्रान्तिकारी क्रिप्टोकरेन्सी हो । यो शून्य लागतको वित्तीय लेनदेन र अविश्वसनीय गतिका साथ अघि बढिरहेको छ । व्यवसाय, सम्पत्ति तथा डिजिटल प्रमाणपत्र डेटाको सुरक्षित व्यापार गर्न यसको प्रयोग भइरहेको छ । यसले पूर्वाधार निर्माणका साथ व्यवसाय प्रदान गर्दछ । यसले ब्लकचेनमा काम गर्दछ जुन बिटकोइनकै एक अंश हो ।
४. भ्वइस कोइन : यो एक उदाउँदो संगीतकारका लागि डिजाइन गरिएको प्लेटफर्म हो जहाँ गायकले उनीहरूको संगीतको मूल्य स्वयं निर्धारण गर्न सक्छन् । उनीहरूले निःशुल्क रूपमा संगीतको नमुना ट्र्याक प्रदान गर्न सक्दछन् । यस प्लेटफर्मको मुख्य उद्देश्य स्वतन्त्र कलाकारलाई मुद्रीकरण गर्नु हो ।
५. मोनेरो : यो विशेष प्रकारको सुरक्षा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो । यसलाई ‘रिंग सिग्नेचर’को नामले चिनिन्छ । यसको अधिक उपयोग डार्क वेभ र ब्लक मार्केटमा हुन्छ । यो कालो वेब र ब्लक बजारमा व्यापक प्रयोग गरिन्छ । यसको सहयोगले तस्करी गरिन्छ । यो करेन्सीको प्रयोगले सजिलै कालोबजारी गर्न सकिन्छ ।
क्रिप्टोकरेन्सीका फाइदा
कुनै पनि कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । क्रिप्टोकरेन्सीका पनि फाइदा र बेफाइदा दुवै छन् । यसका बेफाइदा कम र फाइदा अधिक छन् ।
१. क्रिप्टोकरेन्सी एक डिजिटल करेन्सी हो जसमा फ्रड केसहरू धेरै कम हुन्छन् ।
२. अधिक पैसा भएको खण्डमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु फाइदाजनक हुन्छ किनकि यसको मूल्य धेरै छिटो बढ्छ । यो लगानीको राम्रो प्लेटफर्म हो ।
३. अधिकांश क्रिप्टोकरेन्सीको वालेट उपलब्ध छन् जसका कारण अनलाइन सपिङ तथा पैसाको लेनदेन सरल भएको छ ।
४. क्रिप्टोकरेन्सी कुनै पनि एकाधिकारद्वारा नियन्त्रित छैन । त्यसैले यो करेन्सीको मूल्य घट्ने सम्भावना कम हुन्छ ।
५. त्यस्ता धेरै देश छन् जहाँ पुँजी नियन्त्रण हुँदैन । अर्थात् त्यहाँ कति पैसा देशमा भित्र्याउने र कति बाहिर पठाउने भन्नेबारे सीमा हुँदैन । त्यसकारण, क्रिप्टोकरेन्सी खरिद गरेर त्यसलाई सजिलैसँग देशबाहिर पठाउन सकिन्छ र यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ ।
६. क्रिप्टोकरेन्सीको सबैभन्दा बढी फाइदा त्यस्ता व्यक्तिलाई हुन्छ जसले आफ्नो धन लुकाउन चाहन्छन् । त्यसैले क्रिप्टोकरेन्सी पैसा लुकाउनसमेत उत्तम प्लेटफर्मका रूपमा देखापरेको छ ।
७. क्रिप्टोकरेन्सी मुद्रा पूर्ण रूपमा सुरक्षित छ । यसका लागि तपाईंले प्रमाणीकरण गर्नुपर्छ, किनभने यस्तो मुद्रा ब्लकचेनमा आधारित हुन्छ ।
क्रिप्टोकरेन्सीका बेफाइदा :
१. क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो बेफाइदा यसको भौतिक अस्तित्व नहुनु हो, कारण यसलाई प्रिन्ट गर्न सकिँदैन । न यो करेन्सीको नोट छाप्न सकिन्छ, न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ ।
२. क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्ने कुनै देश, सरकार वा संस्था छैन, जसका कारण यसको मूल्यमा ठूलो उतार–चढाव भइरहन्छ । यसको मूल्यमा कहिले उछाल आउँछ त कहिले ठूलो गिरावट आउँछ, जसका कारण यसमा लगानी जोखिमपूर्ण छ ।
३. हात–हतियार खरिद, ड्रग्स सप्लाई, कालोबजारीजस्ता गलत कार्यमा यसको उपयोग सजिलै गर्न सकिन्छ किनभने यसको प्रयोग दुई व्यक्तिका बीचमा मात्र हुन्छ । त्यसैले यो खतरनाक पनि हुन सक्छ ।
४. यसमा ह्याक हुन सक्ने जोखिम पनि रहन्छ तर ब्लकचेन ह्याक गर्न सजिलो भने छैन । यसमा पूर्ण सुरक्षा व्यवस्था हुन्छ, यद्यपि यो मुद्राको कुनै मालिक नभएका कारण ह्याकिङ हुनबाट पूर्णतः जोगाउन पनि कठिन छ ।
५. ट्रान्जेक्सनमा केही गल्ती भएमा सच्याउन नमिल्नु यसको अर्को बेफाइदा हो । भूलवश बढी भुक्तानी गरिएमा प्रयोगकर्ताले त्यसलाई फिर्ता गराउन सक्दैन, जसले ठूलो घाटा निम्त्याउन सक्छ ।
क्रिप्टोकरेन्सी वैध कि अवैध ?
कुनै नियामक निकायको नियन्त्रणमा नहुने क्रिप्टोकरेन्सी कानुनी रूपमा वैध छ वा अवैध ? यो धेरैको दिमागमा खेलिरहने प्रश्न हो । यसको उत्तर सापेक्षिक छ । यसको वैधताको निर्क्यो तपाईं कुन देशमा बसेर यसको प्रयोग गर्दै हुनुहुन्छ भन्नेले गर्छ । यसको वैधता प्रयोगस्थलमा निर्भर हुनुको कारण विश्वका सबै देशले यसलाई मान्यता नदिनु हो ।
केही देशमा अझै पनि क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिइएको छैन, जसमा नेपाल पनि एक हो । त्यस्तै, केही देशले यसलाई ‘ग्रे जोन’मा राखेका छन्, अर्थात् त्यहाँ यसलाई न औपचारिक रूपमा प्रतिबन्धित गरिएको छ, न त यसको प्रयोगलाई मान्यता नै दिइएको छ ।
हालसालै रसिया, चिन, बोलिभिया आदि राष्ट्रहरुले क्रिप्टोलाई प्रतिबन्ध गरेसँगै नेपाल राष्ट्रबैंकले पनि विज्ञप्ति जारी गरी नेपालमा क्रिप्टो कारोबार गैर-कानूनी भएको बताएको थियो । तथापि निषेध गरिएका राष्ट्रमा समेत भूमिगत रुपमा यी क्रिप्टो माइनिङ्गका कार्यहरु संचालन भईरहेको एजेन्सीहरुले बताएका छन् । चीन सरकारले क्रिप्टो माइनिङ्गलाई निषेध गरेको भए पनि चिनियाँ साइबरसेक्युरिटी कम्पनी Qihoo 360 को डाटाले देखाउँछ कि भूमिगत क्रिप्टो माइनिङ्ग चीनमा अझै जीवित छ। गत नोभेम्बरको एक रिपोर्टमा अनुसन्धान समूहले चीनमा दैनिक आधारमा औसत १०९००० सक्रिय क्रिप्टो माइनिङ आईपी ठेगानाहरू रहेको अनुमान गरेको थियो।
क्रिप्टोकरेन्सीको अन्त्य:
हालै क्रिप्टोकरेन्सीको अन्त्य गर्नको विश्वका वित्तीय नियामक निकायहरु लागिपरेको देख्न सकिन्छ । यसको प्रमुख कारण भनेको क्रिप्टोलाई नियन्त्रण र नियमन गर्न असंभव प्राय: हुनु हो । यदि विश्वमा क्रिप्टो सबैले अपनाए भने विश्वका केन्द्रिय बैंकहरुको शक्ति निकै कमजोर बन्न जान्छ किनभने त्यो समयमा भौतिक मुद्राको प्रयोग र औचित्य नै हराउँछ । आफ्नो शक्ति क्षय हुने र क्रिप्टोलाई नियन्त्रण गर्न नसकिने हुँदा वित्तीय निकायहरु क्रिप्टोकरेन्सीमाथि खनिएका छन् ।
क्रिप्टोको प्रयोग वैधानिकरुपमा अन्त्य भएपनि यसमा हुने भूमिगत लगानी रोक्न वित्तीय निकायहरुले नसक्ने अवस्था सृजना भएको छ । यसको प्रमुख कारण भनेको वित्तीय निकायका हस्तीहरुको समेत क्रिप्टोकरेन्सीमा लगानी हुनु हो । बाहिर देखाउनको लागि केहि सानातिना क्रिप्टो-लगानीकर्तालाई समात्ने क्रियाकलाप भईनै रहन्छन् र भित्र-भित्रै गैरकानुनी क्रिप्टो लगानी पनि जारी नै रहने देखिएको छ ।
Comments
Post a Comment