फागुनदेखि बैंकको ब्याजदर बढ्ने, स्वेच्छिक रुपमा घटबढ गर्न पाइने

 



फागुनदेखि बैंकको ब्याजदर बढ्ने भएको छ । नेपाल बैंकर्स संघको कार्यसमितिको शुक्रबारको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णय अनुसार बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज लिन पाउनेछन् ।

त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउनेछन् । तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन । त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघमा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।

बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको बताए । उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन् । उनले भने ‘घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाउने भए ।’

वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन् ।

गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए । केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।

यता केहि बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले भने बैंकर्स संघको निर्णयप्रति असन्तुष्टि व्यस्त गरेका छन् । बैंकर्स संघले यो बेला ब्याजको दर बढाउनुपर्ने कुनै कारण नै रहेको ती सीईओको भनाई छ । अहिले सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउँदा बैंकको लागत बढ्ने र आगामी बैशाखदेखि कर्जाको ब्याज झनै बढ्ने भएकाले यो निर्णय गलत भएको ती सीईओको भनाई छ ।

ब्याजको दर जति बढाएपनि बैंकिंङ प्रणालीमा तरलता नबढेको यथार्थलाई बिर्सिएर बैंकर संघले समग्र बैंकिंङ उद्योगलाई नै असर गर्ने गरि ब्याजको दर बढाउने निर्णय गर्नु कहीं न कहीं ’राजनीतिक’ भएको उनको आरोप छ ।

विकास बैंकहरुले पनि ब्याज बढाउँदै

बैंकर्स संघले कमर्शियल बैंकहरुको ब्याजदर बढाउने निर्णय गरेकाले विकास बैंकहरुले पनि सबै प्रकारको निक्षेप खातामा ब्याज बढाउँन बाध्य भएका छन् । विकास बैंकहरुको छाता संगठन ’डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल’ का अध्यक्ष प्रद्युमन पोखरेलले ब्याजको दर बढाउँदा निक्षेप नबढेपनि कमर्शियल बैंकहरुले ब्याज बढाएकाले आफुहरुले आफ्नो निक्षेप सुरक्षित गर्न बाध्य भएकाले ब्याज बढाएको बताए ।

यता फाइनान्स कम्पनीहरुले ब्याज दरलाई खुला छाड्ने निर्णय गरेका छन् । उनीहरुबीच यतिमै जाने भन्ने निर्णय नभएपछि राष्ट्र बैंकको नियम अनुसार गर्ने सहमति भएको हो ।

फाइनान्स कम्पनीहरुले अहिलेको ब्यवस्था अनुसार ११.७१ प्रतिशत साधारण मुद्दतिमा ब्याज दिन पाउँछन्। यसो हुँदा रेमिटेन्स खातामा १२.७१ प्रतिशतसम्म ब्याज दिन पाउँछन् । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले राष्ट्र बैंकको नियमभित्र रहेर ब्याज दिउँ भन्ने सहमति भएको बताए ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित