सहकारी बैंकले राष्ट्र बैंक समक्ष बुझायो अवधारणा पत्र, स्वीकृतिको पर्खाइ



नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका छन् ।

नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रकृया पुरा गरी प्रस्ताव तयार गरेको बताए । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैंक दर्ता प्रकृया सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा प्रस्तावित बैंकका प्रमुख सल्लाहकार आनन्द ढुंगानाले बैंक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन आग्रह गरे । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले चाडैनै प्रकृया अघि बढाइने आश्वासन दिए । बैंकले आफ्नो प्रकृया पुरा गरी अवधारणा बारे जानकारी गराएको र अब नेपाल राष्ट्र बैंकले प्रकृया अघि बढाउने उनले बताए ।

प्रस्तावित बैंकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उप रजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्तावित बैंकको अवधारणा पत्र प्रस्तुत गरेको थियो । बैंक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनु्मतिपत्र पाए लगत्तै बैंक सञ्चालनमा आउने बताए ।

साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा सङ्घ आपसमा मिलि नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले स्पष्ट व्यवस्था गरे अनुसार बैक दर्ता प्रृकया शुरु भएको हो । सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसारको प्रकृयाहरु पुरा गरेपछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमती लिएर बैँकिंग कारोबार सुरुवात गर्ने प्राबधान छ । सोही प्राबधान अनुसार बैक दर्ता प्रकृया अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित