बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा



कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् ।

गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ । उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन् । बैङ्कमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैङ्करहरु बताउँछन् ।

ठूलो उद्योग र कृषि क्षेत्रमा बैङ्क केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ । यो बेसरेट बैंकमा सबैभन्दा कम हो । सिभिल बैङ्कको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रशित पुगेको छ ।

गतवर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एशिया बैङ्कको बेसरेट बढेको छ । गतवर्षको पुसमा यो बैङ्कको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ । यो बैङ्कले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।

कृषि क्षेत्रमा ठूला बैङ्कले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नवील बैङ्कका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैङ्कको ज्यादतिका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । उनले भने, “ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन् ।” बैङ्कले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उनको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष राजन गौतमले बैङ्क नाफामुखी भएको बताए । उनले भने, “ बैङ्कले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासिन छ । बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि २५ प्रतिशत उद्योग धरासायी भइसकेका छन् ।” यस्तै स्थिति रह्यो भने उद्योगीले आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी उनको छ । सङ्घीय राजधानीका एक व्यवसायी हालै मात्र परिवारसहित भाग्नु परेको बाध्यताको पछाडि बैङ्क प्रमुख कारण रहेको उनको दाबी छ ।

बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्रायः रहेका बेला बैङ्कको ब्याज उच्च हुँदा व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन् । सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई राज्यले हेर्नुपर्नेमा जोड दिए । व्यवसाय रहे बैङ्क रहने र डुवे बैङ्कसमेत डुब्ने भएकाले अप्ठ्यारो परेको बेला बैङ्कले व्यवसायीलाई पेल्न नहुने उनको तर्क छ । उनले भने, “गाह्रो हुँदा पेल्ने परिपाटी भइरहेको छ । बैंक र व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।”

स्रोत: गोरखापत्र 

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित