के चुनावले नै अबको सेयर-बजार तताउने हो ?
--रबिन सुवेदी
आगामी चुनावले नै अबको बजार तताउने होकि चुनावी माहोलको प्रलोभन देखाएर ठुला खेलाडीहरुले अरुलाई टोपी लगाइदिने दाउ पर्खेका हुन् ! यी आंकलनहरु आजकल सेयर बजारमा चर्चामा रहेका छन् ।
१३ डिसेम्बर २०२१ को न्यून बिन्दु २२६० बाट निरन्तर आक्रामक रुपमा उकालो लागेको बजार २९८० मा विश्राम लिन पुगेको थियो । त्यसपछि, केहि दिन सामान्य उतारचढाव हुदै करेक्सन भइरहेको देख्न सकिन्छ । तर यसरी बजार केहि दिन करेक्टीभ मोडमा जाँदा विभिन्न सामाजिक संजालहरुमा राजनीतिक तथा चुनावी माहौल साथै MCC को चर्चा परिचर्चा गर्दै बजारले व्यापक उचाइ लिने हल्लाहरु आइरहेका छन् । चुनावी मिति घोषणा हुँदा आज बजारको प्रि- ओपन सेसनमा देखिएको आकर्षण र पहिलो घण्टाको कारोबारलाई हेर्दा बजारको यात्रा उकालो नै लाग्ने हो कि भन्ने कौतुहलता हुँदा बजारको करेक्सन सकिएको हो त भन्ने लगानीकर्ताहरुमा प्रश्न उठेको पाइन्छ।
तर प्राविधिक विश्लेषणलाई आधार मानेर हेर्दा करिब ७०० बिन्दु को वृद्धि २९८१ पुगेपछि ओरालिदा फ़िबोनचि अनुसार ३८% ले करिब २७०० को बिन्दु सम्म आउन सक्ने अनुमान गर्न सकिन्छ भने सपोर्ट लाइ हेर्दा २७६० को बिन्दु हुन सक्ने देखिन्छ। तर सामाजिक संजालहरुमा भने विभिन्न राजनीतिक कारणले बजार खसेको र MCC तथा चुनावको घोषणा देखाउँदै बजार व्यापक उक्लिने आश्वाशन दिएको पाइन्छ। यस्तो हो भने के चुनाव पश्चात् बजार ओरालो लाग्ने हो त ?
पक्कै पनि बजार निरन्तर आफ्नै गतिमा चलिरहन्छ र बीच-बीचमा सामान्य उतारचढावहरु कहिले राजनीतिक त कहिले अर्थतन्त्रका कारणले आउने गर्दछ।
त्यसैले अहिलेको बजार बुलिशतिर जाँदैछ र बिस्तारै आफ्नो अल टाइम हाईलाई उछिन्दै निरन्तर उकालो लाग्ने निश्चित नै देखिन्छ।

Comments
Post a Comment