गैरकानूनी भर्चुअल मुद्राको कारोबार गरेको पाइए कारबाही हुन्छः बैंकर्स संघ
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार–व्यवसाय गैरकानूनी भएको जनाएको छ ।
संघले बुधबार एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न सबैमा आग्रह गरेको हो । संघले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।
‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो–भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो–भर्चुअल तथा नेटर्वक मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, संघले जारी गरेको सूचनामा उल्लेख छ ।
माघ ९ गते नेपाल राष्ट्र बैंकले समेत भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो। पछिल्लो समय नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको जनाइएको छ । जसअनुसार मंगलबार राजस्व अनुसन्धान विभागले सो कारोबारमा संलग्न भएको भन्दै एकै परिवारका तीनसहित चार जनाविरुद्ध ३७ करोड बढी माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
Comments
Post a Comment