कोरोना संक्रमणको जोखिममा बैंक–वित्त, जोखिम मोलेरै सेवा
कोरोनाको तेस्रो लहरका कारण यसको असर बैंक वित्तमा पनि परेको छ । नेपालमा हाल दैनिक दश हजार बढी कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै यसको असर बैंक वित्तमा पनि परेको हाे। पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारी कोरोना जोखिममा पर्न थालेका छन् । बैंकवित्तहरुमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ।
अधिकांश बैंकवित्तका कर्मचारीमा कोरोना संक्रमणले छोएको छ। कसैको शाखामा त कसैको मुख्य कार्यालयमै काम गर्ने कर्मचारीमाथि कोरोना संक्रमण देखिएको छ। विभिन्न वाणिज्य बैंकमा कार्यरत ६ हजार बढी कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकका डेढ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखा पर्न थालेपछि बैंकमा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण बढाइएको छ।
पछिल्लो समय भने काठमाडौंमै संक्रमितहरु बढेका छन्। कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने कति शाखाहरु बन्दसमेत गरेका छन् ।
पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन्। बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ।
कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ। कोरोना परीक्षण रिपोर्टमा विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपिएको हो।
नेपाल राष्ट्र बैंकले पनि कोरोनाको संक्रमण दर बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिडसँग सम्बन्धित निर्देशन जारी गरेको छ। पछिल्ला केही दिनमा कोभिड–१९ को संक्रमण नयाँ स्वरुपमा फैलँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलने संकेत देखिएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यवसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नुपर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न ४ बुँदे निर्देशन जारी गरेको हो। राष्ट्र बैंकले देहायका व्यवस्थाहरु अवलम्बन गरि पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न-गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :
१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरि सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।
२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।
३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने ।
४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।
Comments
Post a Comment